काठमाडौँ । दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिकाकी १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुइजना पक्राउ परेका छन् । चामुण्डा बिन्द्रासैनी नगरपालिका-८ बस्ने २५ वर्षीय खगेन्द्र भण्डारी र २५ वर्षीय गोपेन्द्र भन्ने गोबिन्द बहादुर शाहीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले तीजको नाच हेरेर घर फर्किदै गरेकी बालिकालाई लखेटी–लखेटी बलात्कार गरेको आरोप छ । छिमेक गाउँकी १२ वर्षीया बालिकालाई पालैपालो बलात्कार गरेको प्रहरी अनुसन्धानको क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी गणेश बरालले बताए ।
डिएसपी बरालका अनुसार साउन २२ गते राति तीजको नाच हेरेर फर्किएकी बालिकालाई उनीहरुले पिछा गरि ढुङ्गाले हानेर लडाएका थिए । उनी बालिका लडेपछि उनका साथीहरुले उनलाई छोडेर भागेका थिए । त्यही मौकामा बालिकामाथि जर्वजस्ती कारणी गरि उनीहरु त्यहाँबाट भाग्न सफल भएको प्रहरीले जनाएको छ ।
पीडित बालिकाका आफन्तले शुक्रबार प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा प्रहरी कार्यालय दुल्लु र प्रहरी चौकी जम्बुकाँधबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको डिएसपी बरालले जानकारी दिए ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।