स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा यादवको दोस्रो कार्यकाल

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आइतबारदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्रीको शपथ लिँदै उनले पदबहाली गरेका हुन् । स्वास्थ्यमन्त्रीका रूपमा यो उनको दोस्रो कार्यकाल हो । यसअघि २०७५ जेठ १८ देखि करिब डेढ वर्ष उनी स्वास्थ्यमन्त्री भएका थिए । पदबहाल गरेलगत्तै मन्त्री यादवले दुईवटा निर्णय गरेका छन् । निजामती ऐनमा स्वास्थ्य सेवा ऐन समायोजन गर्न कार्यदल बनाउने र संघीय अस्पतालहरूमा उपचार र शल्यक्रियालाई सहज बनाउन डिजिटल प्रणाली लागू गर्ने निर्णय उनले गरेका हुन् । यादवले चार वर्षपछि पुनः स्वास्थ्य मन्त्रालयको जिम्मा लिन पाउँदा आफू हर्षित भएको बताएका छन । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार हाल संघीय निजामती ऐनमा स्वास्थ्य सेवालाई नसमेटिएका कारण मन्त्री यादवले संघीय स्वास्थ्य ऐन बनाउनका लागि कार्यदल बनाउन गरेको निर्णय निकै महत्त्वपूर्ण छ । सरकारी अस्पतालमा उपचार लिन लामो लाइन लाग्नुपर्ने बाध्यतालाई कम गर्नुका साथै शल्यक्रिया गर्न लामो समय पालो कुर्नुपर्ने अवस्थालाई अन्त्य गर्न डिजिटल प्रणाली लागू गर्ने निर्णय पनि महत्त्वपूर्ण रहेको बुढाथोकीको भनाइ छ । ‘यो सिधै जनताले पाउने सेवासँग जोडिएको विषय भयो । अहिले नियमित उपचारका लागि टिकट किन्न नै लामो लाइन बस्नुपर्ने बाध्यता छ । केही अस्पतालमा डिजिटल प्रणाली लागू भइसकेको पनि छ । त्यसलाई सुधार गर्ने र नभएकामा थप गर्नुपर्छ,’ उनले भने, ‘सरकारी अस्पतालमा शल्यक्रियाको पालो पाउन पनि लामो समय कुर्नुपर्छ । त्यसलाई कसरी कम गर्न सकिन्छ, त्यो पनि अध्ययन गरेरै अगाडि बढ्नुपर्ने छ । डिजिटल प्रणाली लागू गर्न सके दुवै सेवालाई सहज बनाउन सहयोग गर्छ ।’

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement