काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्का तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग ४ विषयमा साढे दुई घण्टा बैठक गरेका छन् । देउवा निवास बूढानीलकण्ठमा बिहान १० बजेदेखिको बैठक साढे १२ बजेसम्म चलेको थियो ।
बैठकमा पार्टीमा देखिएको क्रियाशील सदस्यता नवीकरणको विवाद, १५ औँ महाधिवेशनको प्रक्रिया, अन्तिम पटकका लागि भन्दै म्याद थपिएका ७ भ्रातृसंस्थाको महाधिवेशन गराउने जिम्मेवारी दिइएको ‘महाधिवेशन निर्देशन समिति’लाई दिने टिओआर, पार्टीका जिल्ला जिल्लामा देखिएको विवादबारे गहन छलफल भएको महामन्त्री थापाले जानकारी दिए । ‘मुख्यगरी पार्टीका आन्तरिक विषयमा हामीले कुराकानी गर्यौँ ।
गत असार १६ गतेदेखि २३ गतेसम्म बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले क्रियाशील सदस्यता टुङ्ग्याउने समय असार मसान्तबाट बढाएर असोज मसान्तसम्म पुर्याएको थियो । त्यो अवधिसम्म कसरी जिल्ला जिल्लामा देखिएको क्रियाशील सदस्यता नवीकरणसम्बन्धी विवाद मिलाउने भन्नेबारे कुराकानी भएको थापाले जानकारी दिए ।