काठमाडौं । नेपाल शिक्षक महासंघले भदौको दोस्रो हप्तादेखि आन्दोलन गर्ने चेतावनी दिएको छ । बिहीबार काठमाडौँमा बसेको महासङ्घको बैठकले पूर्व सहमति अनुसार शिक्षा विधेयक अघि नबढेको भन्दै आन्दोलन गर्ने निर्णय गरेको हो ।
विद्यालय शिक्षा ऐन जारी गर्न सरकारलाई दिएको समय सीमा आज सकिएको र समय सीमाभित्र पनि सरकारले ऐन जारी नगरेपछि आफूहरूले आन्दोलनमा जाने निर्णय गरेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।
आन्दोलनका कार्यक्रमका लागि आन्दोलन परिचालन समितिले खाका तयार गर्ने र राष्ट्रिय समितिले पारित गर्ने उनले जानकारी दिए । त्यसअघि भाद्र ३ र ४ गतेका लागि राष्ट्रिय समितिको पूर्ण प्रत्यक्ष बैठक बोलाएको अध्यक्ष सुवेदीले बताए ।
समग्र शिक्षक कर्मचारीलाई सन्तुष्ट हुनेगरी र विद्यालय शिक्षाका समस्या समाधान गर्नेगरी विधेयक आउने जस्तो नदेखिएकाले आन्द्योलन गर्नु परेको सुवेदीले जानकारी दिए ।